काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सभामुख देवराज घिमिरेले सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा उहाँहरूलाई शपथ गराउनुभएको हो ।
उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, सांसदलगायत उपस्थित हुनुहुन्थ्यो ।
प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिका लागि आइतबार उम्मेदवारी प्रस्ताव दर्ता भएका थिए । सबै विषयगत समितिमा एकल उम्मेदवारी रहेकाले १० वटै समितिका सभापति निर्विरोध निर्वाचित हुनुभएको हो ।
अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टीका राजकिशोर यादव, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्वाचित हुनुभएको छ ।
कानुन, न्याय तथा मानवाधिकार समितिको सभापतिमा नेकपा ९माओवादी केन्द्र० का विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका डा आरजु राणा देउवा र राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेसका रामहरि खतिवडा निर्वाचित हुनुभएको छ ।
पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी, सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा (एमाले) का ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा एमालेकै किरणकुमार साह निर्वाचित हुनुभएको हो ।
प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिले पूर्णता पाएका हुन् ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।