काठमाडौं । कोरोना भाईरस (कोभिड-१९) संक्रमण जोखिम रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रमा कडाई गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शुक्रबार प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरूबीच भएको छलफलमा कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाई गर्ने निर्णय भएको हो ।
सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । सार्वजनिक यातायात क्षेत्रमा आजैदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमताअनुसार यात्रुहरु राख्ने, भौतिक दुरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुन पानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, जनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको पनि प्रजिअ पराजुलीको भनाई छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वारले भारतमा कोरोनाको संक्रमण दर बढ्दै गएको र नेपालमा पनि बढ्दै जाने देखिएकाले पूर्व सावधानी अपनाउने सम्बन्धमा छलफल भएको उनले बताए ।
कोभिड संक्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको छ ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।