६ चैत, काठमाडाैँ । ग्रीन कफीले मोटोपन घटाउँछ भन्दै ठगी गरेको आरोपमा केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका- १७ नयाँबजार बस्ने पोखराका ४२ वर्षीय आशिष आर्चाय र ३० वर्षीय रसियाका विदेशी नागरिक इजोर कुटश रहेका छन् । आचार्य टिम वान सप्लायर्स प्रालिका संचालक समेत हुन् । सप्लायर्सका संचालक आचार्यले ग्रीन कफीको सेवनले मोटोपन घटाउने भन्दै यसको नियमित सेवन गरे शरीरलाई फाइदा हुने भन्दै भ्रमपूर्ण विज्ञापन गरेका थिए ।
ग्रीन कफी खाएपछि विना औषधी, व्यायाम, डाईटिङ र साईड ईफेन्ट विनै सातामा १३ किलो वजन घटाउने अचम्मको विधि पत्ता लगाएको भन्दै विज्ञापन, सामाजिक सञ्जालको पेजमा राखेर प्रचारप्रसार गरेर भ्रामक सूचना फैलाई बिक्री वितरण गरेर ठगी गर्ने गरेको खुल्न आएको छ । ब्यूरोले आचार्य र कुटशलाई नयाँबजारबाट पक्राउ गरेको हो । आचार्यको सप्लायर्समा खानतलासी गर्दा ठूलो परिमाणमा ग्रीन कफीको सामान समेत फेला पारेको ब्यूरोले जनाएको छ ।
उनीहरुको साथबाट प्रहरीले १२ वटा जुटको बोरामा राखिएकोे हरियो कफी ६४४ केजी, बिक्री वितरणको लागि तयारी अवस्थामा राखिएको १०० ग्रामको हरियो कफी २८२२ प्याकेट, क्याइटालिट लेखिएको ४५ बाकस, कार्डिसन लेखिएको ५१ बाकस, डक्स लेखिएको १८ बाकस, विभिन्न कम्पनीको २५ थान ल्यापटप, र सीपीयू २ थान बरामद गरेको छ । यस्तै विदेश नागरिक कुटशको पासपोर्ट २ थान र उनको कोठाबाट ३ लाख ९७ हजार रुपैया र २ थान मोवाइल बरामद गरेको हो ।
उनीहरुले ग्रीन कफी प्रतिकेजी ९६०मा नेपालको विभिन्न भागबाट खरिद गरी प्रतिकेजी २० हजार देखि ४० हजार सम्म नेपालकै विभिन्न भागमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ब्यूराको अनुसन्धान अधिकृतका अनुसार उनीहरुको नेटवर्क धन्दा भारत र रसियामा समेत रहेको खुल्न आएको छ । सप्लायर्सको कार्यालय र गोदामबाट कानुन बमोजिम अनुमति समेत नलिएको सप्लिमेन्टहरु बरामद भएको छ ।
उक्त सप्लिमेन्टहरु गैरकानूनी रुपमा बेच्ने योजना समेत बनाएका थिए । उक्त सामान समेत ब्यूरोले बरामद गरेको छ । उनीहरुमाथि ठगी सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको छ ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।