काठमाडौँ– प्रतिनिधिसभा बैठकले पूर्वसांसद एवं संविधानसभा सदस्य अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राखेको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो ।
बैठकले प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाको ७१ वर्षको उमेरमा यही चैत ४ गते राति उपचारका क्रममा निधन भएकामा शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ ।
सदनले शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । कोइराला २०५८ सालमा राष्ट्रियसभा सदस्य, विसं २०६३ को पुनःस्थापित प्रतिनिधिसभा सदस्य एवं २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकका रुपमा निर्वाचित सदस्य थिए ।
सभाले उनको सम्मानमा एक मिनेट मौनधारणसमेत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही चैत १० गते मङ्गलबार दिनको १ बजे बस्नेछ ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।