सप्तरी, चैत ६ गते । सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका–५ स्थित एक गाई फर्मममा आगलागी भएको छ । शुक्रबार बिहान अचानक भएको आगलागीमा १८ वटा गाई र २ वटा बाच्छा जलेर मरेको सप्तरी प्रहरीले जनाएको छ ।
मनोज साह र दिनानाथ साहले सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका वडा न.–५ को महुली पुल नजिकै सञ्चालन गरेको कृष्णराम बहुउद्देश्यीय कृषि फर्मको गाई गोठमा ६० वटा गाई पालिएको मध्ये गाई र बाच्छासहित २० वटा जलेर मरेको अवस्थामा फेला परेको हो ।
एक्कासि भएको आगलागी गोठका कर्मचारीले देखेको र गाईको दाम्लाे काट्दासमेत गाईहरू बाहिर नभागेर आगो बलेकै तिर भागेर पसेकाले निकै धेरै क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी दिनुभयो।
आगो बिहानै नियन्त्रणमा आएको र अहिले के–कति क्षति भयो भन्ने बारेमा क्षतिको मूल्याङ्कन गरिएको प्रहरीले जनाएको छ । यता सप्तरीमा पछिल्लो समय आगलागीका घटना बढेको छ ।
बिहीबार मात्र जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा न.–५ आगलागी हुँदा झन्डै ७५ लाख बराबरको धनमाल जलेर नष्ट भएको थियो । यता आगलागीमा चार वटा घर जलेर खरानी बनेको थियो भने एक जना गम्भीर घाइते भएका थिए ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।