न्यापिटअ, एएनआई । म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तिमा १ सय ३८ जनाको मृत्यु भएको राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले गरेको नियमित पत्रकार सम्मेलनमा सेनाको गोली लागेर आइतबार एकै दिन ३८ जनाको मृत्यु भएको जानकारी दिए । उनले यी हत्याकाण्ड याङ्गुनको हाइलाङ थायेर क्षेत्रमा भएको पनि राष्ट्रसंघीय मानव अधिकारी कार्यालयको भनाई उद्धृत गर्दै बताए ।
म्यान्मारमा शनिबार पनि १८ जनाको ज्यान गएको थियो ।
उनले भने, “राष्ट्रसंघ महासचिवले शान्तिपूर्ण प्रदर्शनमा सहभागीमाथि भएको यस किसिमको हिंसात्मक कारबाही कुनै पनि हालतमा स्वीकार्य छैन । म्यान्मारका जनताको आधारभूत अधिकार निरन्तर उल्लङ्घन भइरहेकामा राष्ट्रसंघ निन्दा गर्दछ ।”
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले क्षेत्रीय एवं अन्तर्राष्ट्रिय समुदायलाई म्यान्मारका जनताको पक्षमा ऐक्यबद्धता जनाउन पनि आग्रह गरेका छन् ।
यसैबीच, म्यान्मारको सेनाले ठूलो संख्यामा प्रदर्शनकारी मारिएपछि याङ्गुनका विभिन्न क्षेत्रमा सैनिक कानुन लगाएको छ । निक्की एसियाका अनुसार यस क्षेत्रमा प्रदर्शनकारीले चिनियाँहरुको स्वामित्वमा रहेका धेरैवटा कारखानामा आगजनी गरिदिएका थिए ।
सेनाले गत फेब्रुअरीमा सत्ता आफ्नो हातमा लिएपछि सेनाविरुद्ध दिनहुँ प्रदर्शनहरु भइरहेका छन् । सेनाले आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गर्नुका साथै संसदको नयाँ निर्वाचनलाई पनि खारेज गरिदिएको छ ।
यसैबीच, जापानको भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले म्यान्मारमा सेनाले गरेको ज्यादती निकै भयानक रहेको र त्यो कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।