काठमाडौं : सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यकाे राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली नेपाल आउने भएको छ ।
बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च १५ (२ चैत २०७७) मा बहराइनबाट नेपाल प्रस्थान गर्ने जनाएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग बिहीबार राजदूतावासमा सो आरोहण दलका केही सदस्यले भेट गर्दै उक्त जानकारी गराएका हुन् ।
बहराइन रोयल गार्डस (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती नागरिक रहेको सो टोली ७९ दिन नेपालमा रहनेछ । टोली विशेष विमानबाट नेपाल आउने छ ।
सगरमाथा आरोहणका लागि आवश्यक अन्य बन्दोबस्ती नेपालस्थित सेभेन समिट ट्रेक्स प्रालिमार्फत भइहेको दूतावासले जनाएको छ । सो टोलीले सन् २०२० को अक्टोबरमा लोबुचे पीक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो । रासस
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।