काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।
प्रतिनिधिसभा पुनःस्थापनापछि देव गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गरी खोटाङबाट निर्वाचित भट्टराईलाई प्रमुख सचेतकमा मनोनयन गरिएको हो ।
भट्टराईलाई प्रधानमन्त्री ओलीले आजै संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहितको उपस्थितिमा प्रमुख सचेतकको नियुक्तिपत्र दिएका छन् ।
खोटाङबाट दुईपटक निर्वाचित सांसद भट्टराई नेकपा केन्द्रीय सदस्य पनि हुन् । अनेरास्ववियूको राजनीतिबाट उदाएका उनी २०५१ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचलको स्ववियू सभापति निर्वाचित भएका थिए ।
विधानअनुसार दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक मनोनयन गर्ने व्यवस्था नेकपामा छ ।
पार्टी विभाजनले कानुनी मान्यता नपाइसकेको अवस्थामा विधिवत्रुपमा नेकपाको संसदीय दल एउटै रहेको छ । सो दलबाट प्रमुख सचेतक गुरुङ र सचेतक शान्ता चौधरी थिए । चौधरी सचेतकमा यथावत रहेको उपनेता नेम्वाङले बताए ।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।