काठमाडौं : नेपाल पत्रकार महासंघले विधान अनुसार हुने आफ्ना शाखाहरुको अधिवेशन मात्रै मान्य हुने बताएको छ ।
महासंघको यूरोप शाखामा विवादका बीच गर्न लागिएको अधिवेशनका बारेमा महासंघले यस्तो बताएको हो ।
ग्लोबल नेप्लिजसंग कुरा गर्दै महासंघका महासचिव रमेश विष्टले विधान अनुसार गरिए मात्र यूरोप शाखाको अधिवेशनलाई केन्द्रले मान्यता दिने तर, अन्यथा भए त्यसलाई स्वीकार नगरिने बताए । ‘यूरोप शाखाको बारेमा धेरै कुरा आएका छन्, उनले भने, महासंघको विधान मिचेर अधिवेशन गरिए मान्य हुने छैन ।’
महासंघको कुनै पनि शाखामा एक व्यक्तिले दुई पटक भन्दा बढी नेतृत्व गर्न नसक्ने उनले स्पष्ट पारे । ‘यूरोप शाखा नयाँ शाखा होइन, पुरानो शाखा हो,’ उनले भने, ‘विधान अनुसार नै नेतृत्व चयन हुनुपर्छ ।’
नेपाल पत्रकार महासंघ युरोपमा दुई कार्यकाल पुरा गरिसकेका अध्यक्ष केजिन राईले विधान विपरित तेश्रो पटक पनि अध्यक्ष बन्ने जनाएपछि महासंघले विधान स्मरण गराएको हो ।
यूरोप शाखाको अधिवेशनका लागि महासंघ केन्द्रले बेलायत निवासी पत्रकार चिरन शर्मालाई केन्द्रिय प्रतिनिधि तोकेको छ । गैरआवासीय नेपाली संघको आगामी चुनावलाई पनि मद्देनजर गरी एकपक्षीय ढंगले नेपाल पत्रकार महासंघ युरोपको अधिवेशन गराउन लागिएको आंकलन गरिएको छ।
अधिवेशन आह्वानमै विवाद
विवादै विवादका बीच दोश्रो कार्यकाल पूरा गर्न लागेका पत्रकार महासंघ यूरोप शाखाका अध्यक्ष केजिन राईले यही शनिबार (फेब्रुअरी २० तारिख) का दिन अधिवेशन तोकेका छन्, तर अहिलेसम्म न त निर्वाचन कार्यक्रम प्रकाशित गरिएको छ, न त सदस्यता नामावली नै सार्वजनिक गरिएको छ। तेश्रो अधिवेशन आह्वान गरेका केजिन राईकै वैधानिकतामाथि प्रश्न उठेको छ । उनले अधिवेशन आह्वान गर्नै नसक्ने शाखाका अधिकांश सदस्य तथा पदाधिकारीहरुको दावी छ ।
गत कात्तिकमै शाखाका अधिकांश सदस्य तथा पदाधिकारीले राईलाई अध्यक्षबाट निलम्बन गरेका थिए ।
पत्रकार महासंघ युरोपको अध्यक्ष रहंदारहँदै महासंघको विधान विपरित राईले नेकपाको भ्रातृ संगठनको रुपमा रहेको नेपाल प्रेस संगठन युरोपको नेतृत्व लिएको, आर्थिक अनियमितता गरेको तथा सदस्यता वितरणमा मनपरी गरेको भन्दै उनलाई निलम्बन गरिएको थियो ।
बहुमत सदस्यले राईलाई निलम्बन गरी उपाध्यक्ष डिल्ली अम्माईंलाई कार्यवाहक अध्यक्ष बनाएका थिए । गत कात्तिकमा भएको यो निर्णयसँगै यूरोप शाखाको विवाद सतहमा आएको हो ।
राईले आफु उपर लगाइएका आरोपहरुको खण्डन गर्दै आएका छन्। आफु माथि लगाइएका आरोपहरुको जवाफ दिन पनि आफु तेश्रो पटक अध्यक्ष बन्न लागेको उनले जनाएका छन्।
तर महासंघको विधानमा त्यस्तो कुनै प्रावधान छैन।
नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौं संशोधन २०७५) परिच्छेद ५, दफा १६.७ मा लेखिएको छः ‘महासंघका जुनसुकै तहका पदाधिकारीहरु लगातार दुई पटक भन्दा बढी सोही पदमा रहने गरी उम्मेदवार हुन पाउने छैनन्।’
अधिवेशन रोक्न माग
यसैबीच एकपक्षीय रुपमा अधिवेशन आह्वान गरिएको नेपाल पत्रकार महासंघ, यूरोप शाखाको अधिवेशन रोक्न माग गर्दै महासंघको केन्द्रीय कार्यालयमा उजुरी परेको छ ।
कार्यवाहक अध्यक्ष डिल्लीराम अम्माईं र महासचिव योगेन्द्र मिलन छन्त्यालले शाखाका बहुमत सदस्यद्वारा निलम्बित अध्यक्ष केजीन राईले यही फेब्रुअरी २० का लागि तय गरेको शाखा अधिवेशन अवैध रहेको भन्दै त्यसलाई रोक्न माग गरेका हुन् ।
महासंघका अध्यक्ष गोविन्द आचार्यलाई पत्र लेखी उनीहरुले शाखामा देखिएका विवाद समाधान नभएसम्म राईको नेतृत्वमा हुने कुनै पनि गतिविधि अमान्य हुने बताएका छन् ।
सदस्यताको टुंगो लगाई प्रक्रिया पूरा गरेर मात्रै अधिवेशन आह्वान हुनुपर्ने भन्दै उनीहरुले अधिवेशन गर्नु भन्दा पहिले राईले संस्थाका नाममा गरेको अनियमितताको छानबिन हुनुपर्ने माग गरेका छन् ।
केन्द्रीय अध्यक्षलाई सम्बोधन गरी केन्द्रीय कार्यालयलाई पठाइएको पत्रमा यसअघि नै बहुमत सदस्यहरुले निर्णय गरी केन्द्रमा पठाएको पत्रका बारेमा ध्यान दिन आग्रह गरिएको छ ।
संस्थाको नाममा राईले गरेको अनियमितता, संस्थाको लोगोको दुरुपयोग गरेको, महासचिवकै नक्कली हस्ताक्षर गरेको, सम्बन्धित सदस्यको सहमति विना गरिएको सदस्यता स्थानान्तरण लगायतका मुद्दाको छानबिन गरी टुंगो लगाउन पनि पत्रमा माग गरिएको छ ।
आन्तरिक छानबिन नै नगरी जिम्मेवारीबाट हटाइएका व्यक्तिले एकपक्षीय रुपमा आह्वान गरेको अधिवेशन मान्य नहुने भन्दै सहमतिका आधारमा सबैलाई मान्य हुने गरी अधिवेशनको मिति तय गर्न पनि माग गरिएको छ ।
गत साता आफ्नो फेसबुक पेजमा राईले लेखेका छन्, “मेरो एक मात्र चाहना सहकर्मी सबैलाई समेटेर, नयाँ- पुराना हामी सबै मिलेर एउटा बलियो तथा साझा महासंघ निर्माण गर्ने भन्ने नै हो। जीवनमा पत्रकारिता गरेर निर्माण गरेको पहिचान पनि यही हो। …… हरेक संगठनमा विवाद हुन्छ। तर त्यो समाधान गर्नै नसकिने पनि हुंदैन।”
केन्द्रमा पनि मतभेद
यूरोप शाखाको विवादलाई लिएर महासंघको केन्द्रीय समितिमा पनि विवाद देखिएको छ । अध्यक्ष गोविन्द आचार्यले महासंघले राईले नेतृत्व गरेको शाखालाई मात्रै चिन्ने बताए पछि यूरोप शाखाको विषयलाई लिएर केन्द्रीय पदाधिकारीहरु नै विभाजित भएका छन् ।
‘तर महासंघको विधान मिचेर तेश्रो पटक एकै व्यक्ति अध्यक्ष बन्ने कुरासंग केन्द्रिय अध्यक्ष आचार्य पनि सहमत हुनुहुन्न,’ उनी निकट एक उच्च श्रोतले भन्यो ।
नेपाल पत्रकार महासंघ युरोप शाखामा लामो समयदेखि चल्दै आएको विवादले महासंघको छविमाथि नै धक्का पुगेको महासंघका पूर्व अध्यक्षहरुले जनाएका छन्।
उनीहरुले दुवै पक्षसंग वार्ता गरी उनीहरुलाई सहमतिमा ल्याएर मात्रै विधान सम्मत ढंगले अधिवेशन गराउन सुझाव दिएका छन्।
ग्लोबल अनलाईन खबर नेपाली भाषाको अनलाइन समाचार हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं । साथै, ग्लोबल अनलाईन खबर इन्टरनेटमार्फत वेबसाइट, युट्युब च्यानल ,टिकटक तथा फेसबुक पेजबाट समेत संसारभर हेर्न सकिनेछ ।